“कृषि, पर्यटन, सुशासन, खेलकुद र पुर्वाधारः समृद्व मानेभन्ज्याङ गाउँपालिकाको आधार”

header AD

हाम्रो मिशन

परिचय

प्राचीन समयमा मानेभन्ज्याङ क्षेत्रभन्दा दक्षिणतिर मानेखोप भन्ने ठाउँमा तामाङ जातिको बस्ती रहेको र तामाङहरूको मृतुसंस्कारअनुसार मृतशरीरलाई गाउँभन्दा माथि सत्गत गर्ने चलनअनुरूप यस क्षेत्रमा दाहसंस्कार गर्ने र पछि उक्त स्थानमा माने बनाएर छाडिने गरिन्थ्यो । तामाङहरूले निर्माण गरेको मानेबाट मानेभन्ज्याङको नामाकरण भएको हो । यसको प्रमाण मानेभन्ज्याङ आसपासका क्षेत्रमा चिहान र त्यसभित्र मानव अवशेषहरू भेटिएका र जीमालाहरू पनि भेटिएको भन्ने केही वृद्धवृद्धाको भनाइ रहेकाले उक्त कुराको पुष्टि हुन आउँछ । मानेभन्ज्याङ आफैंमा भन्ज्याङ रहेको र प्राचीन समयमा माथिल्लो भन्ज्याङमा कर्कलो प्रजातिको माने नाम गरेको झार पाइने हुनाले त्यसैका आधारमा मानेभन्ज्याङ रहन गएको हो भन्ने अर्को थरीका जानकारहरूको भनाइ रहेको छ ।अग्रजहरूको भनाइअनुसार मानेभन्ज्याङभन्दा वारिपारिको क्षेत्र उँबु, सिस्नेरी, काफलडाँडा आदि स्थानबाट हेर्दा मानेभन्ज्याङ मानो भरेजस्तो देखिने हुनाले मानेभन्ज्याङ नामाकरण भएको हो भन्ने भनाइ पनि रहेको पाइन्छ । (स्रोतःअनुशन्धानकर्ता-डा.गोपीकृष्ण गौतम) संघीय व्यवस्था अनुसार नेपालमा संघ,सात प्रदेश र ७५३ वटा स्थानिय तहको गठन भएको छ। जसमा कोशी प्रदेश ओखलढुङगा जिल्लामा ८ स्थानिय तह छन । जिल्लामा १ नगरपालिका र सात गाउँपालिका मध्ये मानेभन्ज्याङ गाउँपालिका एक हो। समुन्द्री सहत देखि लगभग १५२० मि उचाईमा अवस्थित यो गाउँपालिका १४६ दशमलव ६१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यस गाउँपालिकाको केन्द्र मानेभन्ज्याङ वडा नं. ५ मा रहेको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा खोटाङ,पश्चिममा सुनकोशी गाउँपालिका ,उत्तरमा सिद्धिचरण नगरपालिका र दक्षिणमा उदयपुर जिल्ला रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार १९ हजार ५ सय सन्तानब्बे जना कुल जनसंख्याको ४७.९% पुरूष र ५२.१% महिला रहेको पाईनछ। यस गाउँपालिकामा मुख्यतः राई,मगर,तामाङ,क्षेत्री,बाहुन,नेवार,भुजेल,माझी,कामी ,दमाई,सार्की आदि जातजाति भाषा-भाषीको बसोबास रहेको छ। ९ वटा वडामा बिभाजित यस गाउँपालिकामा कुल ४ हजार ७ सय ८५ घरसंख्या रहेका छन्।